Warning: session_start(): Cannot start session when headers already sent in /home/readymad/public_html/index.php on line 4
जो अमेरिकाबाट फर्केर चलाइरहेका छन् 'स्किन' ढोका उद्योग

We are committed to maintaining superior standards in manufacturing and business practices.

३ करोडमा खुलेको 'टिम्बर क्राफ्ट' को वार्षिक कारोबार ७ करोड
01 Jan

३ करोडमा खुलेको 'टिम्बर क्राफ्ट' को वार्षिक कारोबार ७ करोड

जो अमेरिकाबाट फर्केर चलाइरहेका छन् 'स्किन' ढोका उद्योग

कुनै पनि घर ढोकाबिना पूरा हुँदैन
कुनै बेला सालजस्तो बलियो काठको ढोका राख्नुपर्छ भनिन्थ्यो। आधुनिक घरको चलनसँगै यो अवस्था फेरिएको छ।

अचेल सहर र गाउँमै पनि पक्की घरमा सल्लो, आँप, कटहर जस्ता रूखको काठबाट बनेका तयारी ढोकाको चलन बढेको छ। यस्तो ढोका हेर्दा आकर्षक, हलुका र सस्तो पर्छ। 

चटक्क मिलेको, बुट्टादार र विभिन्न रङहरूमा पाइने भएकाले यस्ता ढोकाको माग बढेको योगेन्द्रजंग बस्नेत बताउँछन्। बस्नेत नवलपरासीमा रहेको टिम्बर क्राफ्टका प्रबन्ध निर्देशक हुन्। साना तथा घरेलु उद्योगमा दर्ता भएर सञ्चालित टिम्बर क्राफ्टले दस वर्षदेखि यस्ता काठका तयारी ढोकाहरू बनाउँदै आएको छ।

 

सालको तुलनामा पहिलेपहिले सल्ला, कटहर, आँपको काठ बलियो मानिँदैन थियो। प्रायः दाउराका रूपमा मात्रै प्रयोग हुन्थ्यो। अचेल टिम्बरले मात्र दैनिक ३ सय वटासम्म यिनै काठको ढोका बनाइरहेको छ।

'यस्ता ढोका निकै टिकाउ हुन्छन्। सहरी क्षेत्रमा घरभित्रका ढोकाका लागि यो एकदमै रूचाइएको छ,' बस्नेतले भने, 'यो काठ प्रयोग गर्नु हुँदैन भन्ने त सोच मात्रै हो। त्यसमाथि हामीले कीरा-धमिराले नखाने औषधि पनि प्रयोग गर्छौं। सालजस्तो महँगो र पाउन गाह्रो पनि हुँदैन।
'

 

बस्नेतका अनुसार यस्ता ढोकालाई 'स्किन डोर' अथवा 'प्यानल डोर' भनिन्छ। यस्ता ढोकाको बाहिरी भागमा अगाडि र पछाडि दुवैतर्फ बुट्टा टाँसिन्छ। विभिन्न डिजाइनका बुट्टा टिम्बरले अमेरिकाबाट ल्याउँछ। यो बुट्टा सात फिट लम्बाइमा आउँछ। बीचमा प्रयोग गर्ने काठ हाम्रै स्थानीय हो।

'केही वर्षअघिम्म एकदमै गह्रौं ढोका राख्न सके मात्रै बलियो हुन्छ भन्ने सोच थियो। अचेल भारी ढोका चाहिँदैन, घरको भार धेरै बनाउनु हुँदैन भन्ने कुरा धेरैले बुझेका छन्। २०७२ को भूकम्पले पनि सिकायो,' उनी भन्छन्, 'अनि कोठाका ढोकालाई महँगो पैसा हाल्न पर्दैन भन्ने पनि भएको छ।'

सस्तो र राम्रो देखियोस् भन्ने सोचले यस्ता ढोकाको माग बढेको उनको भनाइ छ। यी ढोका लगाउँदा र खोल्दा भारी काठको जस्तो घाइँघुइँ, चाइँचुइँ वा ढ्वाक्क आवाज नआउने किसिमले तयार परिने उनले बताए। त्यस्तै यी ढोका धेरै हदसम्म 'साउन्ड प्रुफ' हुने गरी जडान गरिन्छ, भित्र बोलेको बाहिर र बाहिर बोलेको भित्र नसुनिने गरी। यसले गर्दा घर र कोठा शान्त बनाउन मद्दत पुग्ने बस्नेत बताउँछन्।

यसको आकर्षक पक्ष बुट्टा पनि हो। कम्पनीले एक दर्जनभन्दा धेरै बुट्टा फरकफरक रङमा ल्याउँछ। मानिसहरूले आफ्नो रोजाइअनुसार छान्न सक्छन्। यी बुट्टा पानीले केही नहुने ग्लुले टाँसिन्छ। त्यसैले बरन्डा वा बाथरूममा भएका ढोकाका बुट्टा उक्किने हो कि भन्ने चिन्ता नहुने उनले बताए। कम्पनीले ढोकामा दस वर्षसम्मको वारेन्टी पनि दिन्छ।

टिम्बरले कोठामा राखिने ढोका पाँच हजार आठ सय ८० रूपैयाँमा बेचिरहेको छ। बाथरूम वा बरन्डामा राखिने अलि सानो आकारको हुन्छ जुन पाँच हजार छ सय ४५ रूपैयाँमै आउँछ। जुनै बुट्टा राखे पनि मूल्य एउटै पर्ने उनी बताउँछन्।

'टिम्बर क्राफ्टका ढोकामा कोही पनि नझुक्किऊन् भनेर हामीले सहुलियत र एकै मूल्य कायम गरेका हौं,' बस्नेतले भने। 

२०६९ सालमा स्थापित टिम्बर क्राफ्टको सुरूआती लगानी तीन करोड रूपैयाँ हो। अहिले लगानी बढाउँदै लगिएको बस्नेतले जानकारी दिए। कम्पनीले हाल नवलपरासीको डन्डा, चितवनको गैंडाकोट र भरतपुरमा रहेका एक-एक वटा कारखानाबाट ढोका उत्पादन गरिरहेको छ। यी कारखानाबाट दैनिक तीन सय वटा ढोका उत्पादन हुन्छन्। तीन कारखानाको वार्षिक कारोबार २७ करोड रूपैयाँ हाराहारी भएको उनले बताए।

 

टिम्बरका आफ्नै पाँच वटा शोरूम पनि छन्। ललितपुरको सातदोबाटोमा मुख्य शोरूम छ। बाँकी वनस्थली, खुसिबु (नयाँबजार), कलंकी र गैंडाकोटमा छन्। त्यस्तै देशभरका विभिन्न सहरमा ५० भन्दा धेरै फ्रेन्चाइज पुगिसकेको बस्नेतको भनाइ छ। अझै विस्तार गर्ने योजना उनले बनाएका छन्।

उद्योगले अहिले यस्ता काठ सामुदायिक तथा निजी वनबाट किनेर ल्याउँछ। बुट्टा, किला, ग्लुजस्ता कच्चा पदार्थ नेपालमा नबन्ने भएकाले आयात भइरहेको उनले बताए।

बस्नेतका अनुसार टिम्बरमा अहिले ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

'शोरूममा बस्ने, ढोका फिटिङ गर्ने, मार्केटिङ तथा अप्रत्यक्ष रूपमा गरेर त तीन सयभन्दा धेरैले रोजगारी पाएका छन्,' उनले भने, 'काम गर्नेहरूमा ७० देखि ८० प्रतिशत विदेशबाट फर्किएका हुन्। उनीहरूले धेरै दुःख बुझिसकेका हुन्छन्। म आफैं पनि विदेश गएर आएको हुँ। त्यसैले मजस्तै युवालाई प्राथमिकतामा राखेको छु।'

गोरखाका बस्नेत अमेरिकामा साढे सात वर्ष बसेर फर्केका हुन्। २०६२ सालमा गएका उनी त्यहाँ फोटोग्राफी गर्थे। त्योभन्दा अगाडि उनको इच्छा विदेश गएर बस्छु भन्ने थिएन। बरू घुम्न जान मन लाग्थ्यो।

कानुन विषय पढिरहेका उनी पत्रकारितातिर तानिए। सुरूमा साप्ताहिक पत्रिकामा काम गर्थे। उनका अनुसार त्यो पत्रिका कुनै एक राजनीतिक दलको निकट थियो। लेखनमा दबाब भएपछि उनलाई चित्त बुझिरहेको थिएन।

यो २०५३ सालको कुरा हो। मन नपरे पनि उनी जसोतसो त्यो पत्रिकामा काम गरिरहेका थिए।

एकदिन न्यूरोडमा बसेर एउटा भारतीय पत्रिका हेरेपछि उनी फोटोग्राफीतिर मोडिए।

'त्यति बेला न्यूरोडमा इन्डिया टाइम्स भन्ने पत्रिका पाइन्थ्यो। त्यसमा भारतमा फोटोग्राफी तालिम दिइने विज्ञापन थियो। मलाई त्यसले तान्यो,' उनले भने, 'म र मेरो एक जना साथी त्यो तालिम लिन भारत पुग्यौं।'

तालिम लिएर फर्किएपछि उनले धेरै मिडियाका लागि फोटो खिचे। कमाइ थिएन। उल्टै आफ्नो खर्च हुन थाल्यो। केही समय यसै गरी बित्यो।

एक दिन उनले साइबरमा इन्टरनेट चलाउँदै गर्दा फोटोग्राफरका लागि आवेदन खुलाइएको देखे। सेवासुविधा र कमाइ राम्रो हुने देखेपछि आवेदन दिए। छनोट भएर अन्तर्वार्ताका लागि भारत बोलाइयो।

 

'त्यसपछि म अमेरिका पुगेँ। त्यहाँ संसारभरका फोटोग्राफर हुन्थे। फोटो खिच्न ठूलो ग्यालरी हुन्थ्यो। ग्यालरीमा फोटो खिचेर प्रदर्शनमा राखिन्थ्यो। ग्राहकले मन परे पैसा तिरेर लैजान्थे,' उनले भने। 

उनी कार्निभल क्रुजका लागि काम गर्थे। पारिवारिक, विवाह समारोहका फोटा पनि खिच्थे। स्टुडियो र लाइट मिलाउने जस्ता काम पनि गर्नुपर्थ्यो।

'क्रुजको काम भएकाले मैले ९० भन्दा धेरै देश टेक्ने मौका पाएँ। फोटोग्राफीमा अझ धेरै कुरा सिक्ने अवसर पाएँ,' उनी भन्छन्।

घुमघाम र फोटो खिच्दाखिच्दै उनले विदेशमा करिब ८ वर्ष बिताए। आम्दानी राम्रो, पेसा पनि रमाइलो! तैपनि विदेशमा उनको मन अडिएन। विदेशमै बस्ने रहर भएन। परिवारसँग पनि समय बिताउनुपर्‍यो, आफू एक्लै मनोरञ्जनमा हिँडेर हुँदैन भन्ने सोचेर फर्किने निधो गरे। 

सन् २०१३ मा उनी नेपाल आए। अमेरिकाबाट फर्केपछि सुरूमा उनले यहाँ फोटो स्टुडियो खोले। बिहानदेखि बेलुकासम्म खट्नुपर्थ्यो। धेरै दुःख भयो।

'अनि आफू मनैदेखि खुसी भएर गरेको फोटोग्राफी छाडियो,' उनले भने, 'रोजिरोटीका लागि ढोका उद्योगतर्फ लागेँ।'

ढोका उद्योगमा उनी एकैपटक लागेका होइनन्। अमेरिका छँदै उनले साथीहरूसँग मिलेर ढोका उद्योगमा लगानी गरेका थिए। सुरूमा साथी टेकबहादुर थापाले उनलाई काठ उद्योगमा तानेका थिए। अहिले थापा अर्कै व्यवसायमा छन्। बस्नेत भने अर्का साथी शरण वैद्यसँग मिलेर उद्योग चलाइरहेका छन्।

सुरूमा उनीहरूले चीनबाट तयारी ढोका ल्याएर बेच्थे। तर गुणस्तरीय नभएकाले व्यवसाय टिकेन।

केही समयपछि उनीहरूले त्यस्तै आकर्षक तर गुणस्तरीय ढोका कसरी बनाउन सकिन्छ भनेर सोच्न थाले। अनलाइनमा कच्चा पदार्थ खोज्दै जाँदा अमेरिकामा भेटियो। त्यो बेला बस्नेत अमेरिकामै थिए।

'त्यो बेला म त्यही कच्चा पदार्थ बनाउने उद्योगको आसपास थिएँ। साथीहरूले बुझिदिन भनेपछि म गएँ,' उनले भने, 'तर त्यो उद्योगको मुख्य कार्यालय आयरल्यान्डमा रहेछ। म त्यहाँ पनि पुगेर कुरा गरेँ। फेरि नेपालमा सामग्री ल्याउन दक्षिण एसिया हेर्ने कार्यालयमा कुरा गर्नुपर्ने रहेछ। त्यो कार्यालय भने भारतमा रहेछ। पछि त्यहाँ गएर सबै प्रकिया गरियो।'

यसरी थालेको व्यवसायलाई नै बस्नेतले अमेरिकाबाट फर्केपछि निरन्तरता दिए। राम्रोसँग चलिरहेको थियो। कोरोनाका कारण भने व्यवसायमा असर पर्‍यो। पछिल्लो समय घर बनाउन कम भएकाले ढोकाको माग धेरै छैन। त्यसमाथि कच्चापदार्थ आयात गरेर चलेका उत्पादनमूलक उद्योगलाई सरकारका विभिन्न नीतिहरूले समस्या पारिरहेको उनको गुनासो छ।

 

अरू देशमा सरकारले साना उद्योगीलाई प्राथमिकतामा राखेर सल्लाह सुझाव दिए पनि नेपालमा त्यस्तो व्यवस्था नभएको उनले बताए।

'कर तिरिसकेपछि राज्यले पनि हेरिदियोस् भन्ने हाम्रो अपेक्षा हुन्छ। राज्यले साना व्यवसायीलाई सल्लाह र सुझाव मात्रै दिने हो भने पनि टिक्न सहज हुन्छ,' उनले भने, 'विदेशमा प्रत्येक वर्ष कस्तो भइरहेको छ भनेर सोधिन्छ। कति जनालाई रोजगारी दिएको छ, काम गर्ने कति सुरक्षित छन्, कम्पनी सहज रूपमा चलेको छ कि छैन, अप्ठ्यारो अवस्था छ भने कसरी सुल्झाउने भनेर सरकारले सुझाव दिन्छ। हाम्रोमा भने केही छैन।'

त्यसैले नेपालमा निजी क्षेत्र आफ्नै बलबुताले अघि बढेको उनी बताउँछन्।

बैंक तथा बजारको स्थिति सहज हुने हो भने टिम्बर क्राफ्टले उत्पादित ढोका बाहिरी मुलुकमा पनि निर्यात गर्ने उनको भनाइ छ। यस्ता ढोकाको माग पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका, भारतलगायत एसियाली मुलुकमा पनि बढिरहेको उनले बताए।

ढोका उद्योगमा भिजे पनि बस्नेतले आफूलाई मनपर्ने पेसा फोटोग्राफीलाई चटक्कै माया मार्न सकेका छैनन्।

उनी भन्छन्, 'ढोकाका बारेमा सामाजिक सञ्जालमा एउटा पोस्ट गरेँ भने फोटोग्राफीका बारेमा दुइटा पोस्ट गर्न मनलाग्छ।'

कोभिडको मध्य समयमा उद्योग ठप्प हुँदा उनले साथीहरूसँग मिलेर फोटोग्राफीमा काम पनि गरे।

'फोटो पसल डटकम भन्ने इकमर्स छ। त्यसमा हामीले अनलाइनबाट फोटोग्राफी पढाउँछौं। लकडाउनमा १५० भन्दा धेरै विद्यार्थी थिए,' उनले भने। 

फोटो पसल डटकम अहिले पनि सञ्चालनमा छ जसमा बस्नेत अध्यक्ष छन्। टिम्बर क्राफ्टसँगै उनी यसलाई पनि अगाडि बढाउने सोचमा छन्।
 सेताे पाटी डट कम मा शुक्रबार, असोज २८, २०७९

छापीएकाे लेख https://www.setopati.com/